वेबसाईटको बारेमा

किन अनलाइनमा जाने ?

एचआइभी कार्यक्रमहरुमा नयाँ कुराहरुको प्रस्तुति ईपिक नेपालको लागि एक कृयाकलाप हो । ईपिक नेपालले अनलाइनबाट लक्षित समूह र एचआइभी संक्रमित व्यक्तिहरुलाई भेट्न र उनीहरुलाई कार्यक्रम तथा सेवामा संलग्न गराउन विभिन्न सूचना तथा सन्चार प्रविधिलाई आफ्नो नियमित दिइने एचआइभीको सेवामा रणनैतिक हिसाबले एकीकृत गरेको छ । लक्षित समूहहरु भन्नाले यौनकर्मीहरु (महिला, पुरुष वा तेस्रोलिंगी), तेस्रोलिंगी महिलाहरु, समलिंगी पुरुष, दुइलिंगी पुरुष, र पुरुषसंग यौन सम्बन्ध राख्ने पुरुषहरु पर्दछन् ।

परम्परागत तरिकामा, आउटरीच तथा समूदाय सहयोग सेवामा लक्षित समूहलाई भौतिक हटस्पट र सञ्जालको प्रयोग गरी एकल वा समूहमा भेट्ने गरिन्छ । यस कार्यमा आउटरीच कार्यकर्ताहरुलाई परिचालन गरी सकेसम्म बढी भन्दा बढी संख्यामा भेट्ने प्रयास गरिन्छ र भेटेका मध्ये करिब आधाले मात्रै एचआइभी जाँच गरेको पाइएको छ । त्यसैले सूचना तथा सन्चार प्रविधिको प्रयोग एचआइभीको सेवा लिनको लागि अधिक रुपमा रुचाइएको र सिफारिस गरिएको नयाँ पद्दति हो । राष्ट्रिय एचआइभी रणनैतिक योजना (२०१६–२०२१) ले इ-हेल्थ र एम-हेल्थ ले स्वास्थ्य साक्षरतालाई सुधार गर्न सहयोग गर्ने संभावना राख्दछ भन्ने कुरालाई उजागर गरेको छ । एक बटनको भरमा स्वास्थ्य हेरचाह सेवा प्रणालीमा पहुँच बढाउन मद्दत गर्दछ । ईपिक नेपालले मेरो साथी वेब साईट लाई लक्षित समूह र एचआइभी संक्रमित व्यक्तिहरुलाई एचआइभी सम्बन्धी सेवामा पहुँच बढाउने एउटा प्लेटफर्मको रुपमा विकास गर्ने आशा गरेको छ ।

मेरो साथी के हो ?

मेरो साथी भनेको अनलाईनबाट सेवा बुकिंङ्ग गर्ने प्रणाली हो । यो प्रणालीको लक्ष्य भनेको सजिलो तरिकाले गोपनियता सुनिश्चितता गरि एचआइभी जाँच सेवाको लागि बुकिंङ्ग गराउनु हो ।  

मेरो साथीले सबैभन्दा पहिले तपाईंलाई एचआइभी र यौन रोग लाग्न सक्ने जोखिमको लेखाजोखा छोटो प्रश्नहरु मार्फत् गर्छ ।

त्यसपछि, मेरो साथीले तपाईंलाई एचआइभी जाँचको लागि क्लिनिक थाहा पाउन र क्लिनिकमा जाने योजना बनाउन सहयोग गर्दछ । वेबसाइटले तपाईलाई पायक पर्ने ईपिक नेपालको सहयोगमा संचालित क्लिनिकहरुको नाम र ठेगाना देखाउँदछ र तपाईलाई उपयुक्त हुने समय सोध्दछ । त्यसपछि तपाईको बुकिंङ्गको योजनाको लागि केही जानकारीहरु बटुल्दछ र बुकिंङ्गको कार्य सकिन्छ । तपाईले बुकिंङ्ग गरेको दिन र समय याद राख्नुपर्दछ र उक्त दिन र समयमा क्लिनिकमा आउन सक्नुहुन्छ । तपाईंलाई बुकिंङ्ग गरेको क्लिनिकको बारेमा जानकारी तपाईंको मोबाइल फोनमा मेसेज मार्फत पनि आउछ र तपाईंले क्लिनिकबाट लिन खोजेको सेवाहरुको बारेमा जानकारी दिनको लागि मेसेज मार्फत भिडियोको लिंक समेत पठाउछ ।

मेरो साथी कसले बनाएको र किन ?

मेरो साथी यूएसएआइडी र पेपफारको आर्थिक सहयोगमा संचालित ईपिक नेपालले बनाएको हो । ईपिक नेपाल नेपालको टिमले अनलाईन सेवा मार्फत लक्षित समूहमा पुग्नको लागि भएका समस्याहरुको पहिचान गर्न ति समूदायमा श्रृंखलाबध्द रुपमा सुझावहरु संकलन र सर्वेक्षण गरेको थियो । एचआइभी सेवाको पहुँचमा हुने बाधा र चुनौतीहरुलाई हटाउन र ती सेवाहरुमा पहुँच अनलाईन सेवाबाट सजिलोसँग उपलब्ध गराउनका लागि मेरो साथी बनाइएको हो ।

कस्तो किसिमका जानकारीहरु संकलित गरिन्छ ?

मेरो साथी प्रयोग गरुञ्जेल तपाईंलाई केही प्रश्नहरु सोधिने छ जसको सहयोगले तपार्इं आफू एचआइभीको जोखिममा भए नभएको बारेमा पत्ता लगाउन सक्नुहुन्छ । तपार्इंको फोन नम्बरले तपार्इंसंग सम्पर्कमा रहिरहनका लागि र अरु कुनै थप जानकारीहरु तपाईंलाई चाहिएमा सोध्नका लागि सहयोग गर्ने गर्दछ । तपाईको मोबाइल फोन अथवा कम्युटरले तपाई बस्ने स्थानको बारेमा जानकारी दिनुहुन्छ कि भनेर सोध्दछ । यदि तपाईंले त्यो जानकारी दिनुभयो भने, तपार्इं बसेको स्थान नजिकै वा वरिपरि भएका क्लिनिकहरु पत्ता लगाउन गर्न सहयोग गर्दछ ।

तपाईंबाट लिईएको जानकारीहरु सबै कार्यक्रमको लागि मात्रै प्रयोग हुन्छ । सो जानकारीहरु तपाईंको यौन व्यवहार अथवा पहिचान निर्धारण गर्न कहिल्यै प्रयोग गरिने छैन । यो वेबसाइटले तपाईं बसेको स्थान, जोखिम व्यवहार अथवा जाँच सम्बन्धी जानकारीहरु तपाईसंग संकलन गर्दछ, ति सबै तपार्इंलाई उपयुक्त हुने क्लिनिकहरुको बारेमा सल्लाह सुझाव दिन र अनलाईन प्रयोगको लागि मात्र गर्दछ । हामी तपाईंको गोपनियताको सुनिश्चित गर्दछौं ।

मेरो स्वास्थ्यको बारेमा अरुसंग कसरी कुरा गर्ने ?

तपार्इंले यदि एचआइभी, यौन रोग र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञहरुसंग कुरा गर्न चाहनुहुन्छ अथवा आउटरीच कर्मचारी जसले यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी प्रश्नहरुलाई जवाफ दिन तालिम पाएका छन् उनीहरुसंग कुरा गर्न चाहनुहुन्छ भने तपाईले यस merosathi360@gmail.com मा इमेल गर्न सक्नुहुन्छ ।

मैले आफ्नो नजिकैको एचआइभी सेवा कसरी पत्ता लगाउने ?

तपार्इंको नजिकैको एचआइभी सेवा थाहा पाउन सबैभन्दा सजिलो तरिका यो वेबसाइटमा भनिए जस्तै गर्ने हो । तपार्इंले प्रश्नको उत्तर दिइसकेपछि र तपार्इंको जोखिमको बारेमा थाहा पाएपछि तपाईंले सेवा लिनको लागि बुकिंङ्ग गर्ने बटन देख्नुहुन्छ । तपाईलाई पायक पर्ने क्लिनिकहरुको नाम देखिनेछन् र तपाईंलाई उपयुक्त लाग्ने क्लिनिकमा जान बुकिंङ्ग गर्न सक्नुहुन्छ ।

अरु सेवाहरु जस्तै एचआइभी रोकथाम, उपचार र अन्य कुनै यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारीहरुका लागि merosathi360@gmail.com मा इमेल गर्नुहोस् र हामी तपाईलाई तपाईको नजिककै रहेको सेवा केन्द्रहरुसँग सम्पर्क राख्नका लागि मद्दत गर्न सक्छौ ।

मैले एचआइभी बारे थप जानकारी कसरी पाउन सक्छु ?

एचआइभीबारे थप जानकारीका लागि तपाईंले निम्न संस्थाहरुको वेब पेजमा गएर लिन सक्नुहुन्छ, ईपिकको सोसल मिडियामा हामीलाई पछ्याउन सक्नुहुन्छ:

यदि मलाई एचआइभी संक्रमण भएमा म कसरी स्वस्थ्य जीवन बाँच्न सक्छु ?

हाल एचआइभी संक्रमणको प्रभावकारी औषधी उपचार सेवा उपलब्ध भएकाले एचआइभी संक्रमण भएका व्यक्ति लामो समय सम्म बाँच्न र स्वस्थ जीवन बिताउन सक्छ । एचआइभी संक्रमणको उपचार अर्थात एन्टी रेट्रोभाइरलथेरापी नेपालमानि:शुल्क उपलब्ध छ ।

नेपालमा उपचार सम्बन्धी जानकारीको लागि निम्न संस्थाहरुमा सम्पर्क गर्न सक्नुहुन्छः

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र(एनसीएएससी):

ववेब साईट: https://www.ncasc.gov.np

फोन नम्बर: ०१-४२६१६५३

राष्ट्रिय एचआइभी तथा एड्स महासंघ नेपाल (एनएपीएन)

वेब साईट: http://napn.org.np/

फोन नम्बर: ०१-४३६२९३९

एचआइभी संक्रमित महिलाहरुको राष्ट्रिय महासंघ (एनएफडब्लूएलएचए)

फोन नम्बर: ०१-५५२९१५३/५५२६७२५